Latest news | Nepali short news | Help-Mission

१२ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले विरोध जनाएका छन् । उनीहरुले प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको दाबीसमेत गरेका छन् ।

प्राधिकरण र ऊर्जा उत्पादकहरुबीच वर्षायाममा १० प्रतिशतसम्म लोड घटाउन भन्नसक्ने उल्लेख हुने गरेको छ । सोही आधारमा प्राधिकरणले वर्षायाममा बढी उत्पादन हुने र खपत हुन नसकेर खेर जाने भएकाले बिजुली उत्पादन घटाउन भनेको छ । तर प्रसारण लाइनको क्षमता हुँदाहुँदै पनि प्राधिकरणले उत्पादन घटाउन लगाएको आरोप लगाउँदै प्राधिकरणविरुद्ध अदालत जान परे पनि जाने इप्पानले जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरणको नाफा थोरै घट्दा केही फरक नपर्ने तर, एउटा विद्युत आयोजना डुब्दा त्यसको असर धेरै ठाउँमा पर्ने बताए । प्राधिकरणले ‘टेक अर पे’ भनेर विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेपछि आयोजना बन्द भएपनि त्यसको पैसा दिनुपर्ने कार्कीको भनाइ छ ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले ४० लाख सर्वसाधारण लगानीकर्ता र सबै बैंकहरूको लगानी रहेको यो क्षेत्रलाई खेलाँचीका रुपमा लिएको बताए । ‘४० करोड रुपैयाँ पूँजी रहेको कम्पनीको २२ करोड रुपैयाँको विद्युत खेर फालेपछि कम्पनी कसरी चल्छ ?’ उनले भने, ‘अहिले ३० आयोजनाको ५०० मेगावाट विद्युत प्राधिकरणले खेर फालिरहेको छ ।’

इप्पानका सल्लाहकार तथा ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले प्रसारणलाइनको क्षमता हुँदाहुँदै बदनियतपूर्ण ढंगले विद्युत प्राधिकरणले विद्युत खेर फालेको बताए ।

विद्युत प्राधिकरण स्रोतका अनुसार कतिपय स्थानमा उत्पादकहरु आफैंले र कतिपय स्थानमा प्राधिकरणले पूर्वाधार बनाउन नसकेका कारण रातिको समयमा कुनै दिन अधिकतम १०० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिएको छैन । साथै बाढीले क्षति पुर्याएको र प्राविधिक समस्या आएका कारण पनि बिजुली उत्पादन प्रभावित भएको छ ।

२५ मेगावाटको काबेली बी वान, ९.९४ मेगावाटको काबेली बीवान क्यासकेड, ९.९ मेगावाटको इवा खोला, १४.९ मेगावाटको हेवाखोला ए, २२ मेगावाटको लोवर हेवामा बाढीले क्षति पुर्याउँदा ८१.७४ मेगावाट बिजुली उत्पादन हुन सकेको छैन ।

यस्तै ७.५ मेगावाटको अपर खोरुङको एउटा युनिटमा समस्या आएर ३.५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ । ८६ मेगावाटको सोलु दूधकोशीबाट पनि एउटा युनिटमा समस्या आएर २८.६ मेगावाट मात्र उत्पादन भइरहेको छ । २७ मेगावाटको दोर्दीबाट १८ मेगावाट र घलेम्दीको पेनस्टकमा समस्या आएर ५ मेगावाट बिजुली पनि उत्पादन हुन सकेको छैन ।

प्राधिकरणले पीपीए गर्नुभन्दा पहिला कनेक्सन एग्रिमेन्ट गराउँदा ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनलाई देखाएर विद्युत प्राधिकरणले लोड तलमाथि गराउन सक्नेछ भन्ने बुँदा राखेकाले उक्त बुँदा खारेज गर्नुपर्ने प्रवर्द्धकहरुको माग छ ।

यसैबीच लोड घटाउँदा परेको असरसहितको प्रतिवेदन तयार पार्न इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा इप्पानको तर्फबाट लामासँगै कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, सदस्य मिथुन पौडेल छन् भने प्रवर्द्धकका तर्फबाट करिडोर अनुसार ६ जना सदस्य राखिएको छ । सदस्यमा अर्जुनप्रसाद गौतम, सुजन पौडेल, सतिश न्यौपाने, वीरबहादुर घले, मोहन कार्की र उत्तम अमात्य छन् ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post