सानोमा हजुरबाले भन्नुहुन्थ्यो
नाति खोला-खोला नडुल्नू
मकैबारीमा नअल्मलिनू
वनझाँक्रीले लैजान्छ
मैले सोधेथें
‘लग्यो भने के गर्छ हजुरबा ?’
भन्नु हुन्थ्यो- ‘तेरो होसमाथि कब्जा गरेर
तँलाई लट्य्याएर
ललाई फकाई गरेर
जादुमन्तर फुकेर
उसको इच्छा अनुसार काम लगाउँछ
के के गराउँछ के के
मनलाग्दी गराउँछ’
हजुरबा!
मन्त्री ज्युले भन्नु भाको
आजकल वनझाँक्रीहरू गाउँघरमा हैन
राजधानीतिरै छ्याप्छ्याप्ती पाइन्छन् रे
गाउँमा ओडार र गुफाहरूमा लैजाने वनझाँक्रीले
सहरमा मखमली कार्पेट बिछ्याइएको
सानदार कोठाहरूमा लैजान्छ रे
उता गाउँमा बालुवाको खाना खुवाउने वनझाँक्रीले
सहरमा ५२ भोजन गराउँछ रे
र, मान्छेको कानमा फुस्फुसाएर
सबै चाहेको काम गराउँछ रे ।
के थाहा !
विगतमा वनझाँक्रीहरुले
कति कति मन्त्रीहरू उडाए हुन्
कति कति वरिष्ठ कर्मचारीहरू लगे हुन्
मन्त्री ज्युहरू जस्तो शक्तिशालीहरूलाई त
फनफनी घुमाउने वनझाँक्रीले
हामी सोझासाझा गरिखाने जनतालाई
कति घुमाउँदो हो नि हजुरबा?
सोच्दा पनि डरै लागेर आयो
आब्बुई !
सानोमा सुनेको वनझाँक्रीको कथा
डरलाग्दो थियो
डरसँगसँगै रोमान्चक पनि थियो
किन होला हजुरबा !
अहिले सुनेको वनझाँक्रीको कथा
डरलाग्दो मात्रै छ
सारै सारै डरलाग्दो छ ।
from Help-Mission Jhapa Nepal