Latest news | Nepali short news | Help-Mission

३० असार, काठमाडौं । रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको मृत्युको कारणबारे कलाकारहरुले प्रश्न उठाएका छन् ।

बिहीबार राति ११ बजे घरको भर्‍याङमा ताम्राकार झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको आत्महत्याको कारण नखुलेपछि २०११ की मिस नेपाल मलिना जोशीले ‘के कारण उनले आत्महत्या ?’ गरेका हुन् भन्दै केही प्रश्नहरु उठाएकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै उनले सोधकी छन्, ‘अन्तिम दिनहरुमा उनीसँग को-को थिए ? उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो ? उनको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ?’

उनले पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए भन्ने प्रश्न पनि गरेकी छन् । ‘के उनलाई राम्रो व्यवहार गरिएको थिएन ? के उनलाई दुर्व्यवहार गरिएको थियो ? के उसलाई चोट पुर्‍याइएको थियो ? के ऊ डिप्रेसनमा थियो ?’, उनले थपेकी छन् ।

अर्की पूर्वमिस नेपाल तथा अभिनेतृ सृष्टि श्रेष्ठले पनि इन्टाग्राममा ‘सत्य र न्यायको जीत हुनेछ’ भनेकी छन् । तर, प्रहरीका अनुसार हालसम्म उनले किन आत्महत्या गरे भन्ने कारण खुलेको छैन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, घटनास्थलबाट सुसाइड नोट वा उनको कुनै संकेत फेला परेको छैन ।

मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान समेत प्रहरी वृत्त, मालिगाउँले मात्रै गरिरहेको छ । यद्यपि, घटनाको कारण पत्ता लगाउन प्रहरीले ताम्राकारको मोबाइललाई डिजिटल फरेन्सिक ल्याब (डीएफएल) पठाएको छ ।

डीएसएलबाट उनको मोबाइलमा भएको विवरण, कुराकानी लगायतका विवरण प्रहरीले प्राप्त गर्नेछ । ‘अहिलेलाई अरु कुनै कारण देखिएको छैन, मोबाइलबाट कारण पत्ता लाग्छ भन्ने अपेक्षा हो’, एसएसपी कार्कीले अनलाइनखबरसँग भने, ‘त्यसका लागि केही समय भने कुर्नुपर्छ ।’

अन्य विभिन्न पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post