Latest news | Nepali short news | Help-Mission

बार्सिलोना। स्पेनको बार्सिलोनामा तमु ल्होछार विशेष कार्यक्रम सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा सोमबार एकापसमा शुभकामना आदानप्रदान गर्दै ल्होछार पर्व मनाईएको हो।

प्रत्येक वर्ष ल्होछारका अवसरमा समाजले आयोजना गर्दै आएको कार्यक्रम यो वर्ष पनि भव्यताका साथ सम्पन्न भयो।

विभिन्न परम्परागत वेषभूषामा सजिएका गुरुङ समुदायका महिला पुरुषको उपस्थितिले कार्यक्रम निकै मनमोहक देखिएको थियो ।

विशेष समारोहमा तमु समुदायका परम्परागत गीत संगीतबाट सहभागीहरुले प्रदेशबाट गाउँघरको झझल्को अनुभूति गरेका थिए। दोस्रो पुस्ताका तमु युवाहरुमा पनि आफ्नो सम्प्रदायको सांस्कृतिक पर्वमा उत्तिकै चासो देखिन्थ्यो।

कार्यक्रममा सारा तमुस्यो,सृष्टि तमुस्यो,धन बहादुर तमु, शोभा तमुस्यो,अञ्जु तमुस्यो,पुनम तमुस्यो,तिना तमुस्यो,सज्जना तमुस्यो,रेवती तमुस्यो, सलिना तमुस्यो,गौतम गुरुङ,अन्शा गुरुङ लगायतका कलाकारहरुले विभिन्न गीत संगीतमा नृत्य गर्दै मनोरन्जन प्रदान गरेका थिए।

यस्तै ‘चुट्को गुन्यो’ बोलको गीतमा अन्सु तमुस्यो र विनोद तमु, ‘तिम्रो दिलमा घर मेरो’ गीतमा सारा तमुस्यो र प्रशंसा तमुस्योको प्रस्तुति रह्यो। कार्यक्रममा मगर समाज स्पेनको सामूहिक नृत्यदेखि बिशाल गुरुङ र सुशील केसीको लाईभ गीत प्रस्तुतिले दर्शकको ध्यान खिचेको थियो। ‘रिमै’ बोलको गीतमा शुब्बा तमुस्यो,सरु तमुस्यो र अञ्जु तमुस्योले नृत्य प्रस्तुत गरेका थिए ।

समाजका अध्यक्ष गौतम गुरुङले कार्यक्रममा स्पेनबासी नेपाली समुदायको उल्लेख सहभागिता रहेकोमा खुशी व्यक्त गरे। ‘विदेशमा पनि गाउँघरकै याद मेटाउने गरी परम्परागत वेषभूषामा सजिएर ल्होछार मनाउन पाउदा खुशी लागेको छ। यो एउटा कार्यक्रम मात्रै होईन, आफ्नो मौलिकताको संरक्षण पनि हो,’ अध्यक्ष गुरुङले भने ।

समाजका संस्थापक अध्यक्ष बेनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्पेनस्थित संघसंस्थाका प्रतिनिधिहरूलगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post