१३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे बस्ने छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक आज सम्पन्न गर्ने तयारी छ ।
गत बुधबारदेखि सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा ४० केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ । सबैले धारणा राखिसकेपछि बैठक सम्पन्न गर्ने तयारी छ ।
बिहीबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्ष मुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका थिए । बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने लगायतका माग पनि गरेका थिए ।
यसैगरी ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशिलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने लगायतका सुझाव समेत आएको एकीकृत समाजवादीले जनाएको छ ।
from Help-Mission Jhapa Nepal