सुदनकी छोरी जन्मिइन्। घरभरि खुशियाली छायो। अस्पतालमा तीन दिन राखेपछि घर लगियो। न्वारान गरियो। बच्चीलाई घाममा सुकाएर उनको आमा धारामा लुगा धुन गइन्। बच्चीले दिसा गरिदिइन्। सुदनलाई पर्नु पीर पर्यो! दिसा देखेर सुदन चिच्याए, “ए… श्रीमतीज्यू, छोरीले थाङ्नामा सुइँकाइछिन्। लौन! फेर्नुपर्यो!”
बच्चीकी आमा दौडेर आइन् र थाङ्नो फेरिदिइन्। उनले प्याकेट देखाउँदै भनिन्, “ह्या.. यो पुरानो जमानाको थाङ्नो कसले ओढाएछ ? उही पुरानो ढर्रा पारा। ऊ त्यो प्याकेट यता दिनुस् न!”
सुदनलाई के झोंक चल्यो थाहा भएन। उनले प्याकेट परतिर फ्याँके। पुन: बर्बराउँदै भने, “नेपालका क्रान्तिकारी र डाइपर उस्तै भए। कतैबाट प्रायोजित मिशनरी आइटम। उनीहरु आफैंले गर्दा दिसा पुछेर फ्याँक्नुपर्ने अवस्थामा पुगे।”
हेलम्बु-६, सिन्धुपाल्चोक
from Help-Mission Jhapa Nepal