Latest news | Nepali short news | Help-Mission

९ माघ, काठमाडौं । मासिक ५ हजार औषधि खर्च पाउने मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीको अझै पहिचान हुन नसकेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलका अनुसार अझै देशभरका सबै स्थानीय तहबाट बिरामीको संख्या यकिन भइनसकेको बताए ।

उनका अनुसार हालसम्म २८२ वटा स्थानीय तहका बिरामीले उक्त रकम पाएका छन् ।  बाँकी एक सय स्थानीय तहमा बिरामीको पहिचानका लागि यसै चालु आवमाम २५ करोड पठाइएको छ ।

यससँगै यो सेवा ३८२ तहका बिरामीले पाउने भएका छन् भने बाँकी ३७१ पालिकाका बिरामी भने अझै पनि सरकारले उपलब्ध गराउने यो सेवाबाट बञ्चित नै छन् ।

‘बाँकी (३७१) स्थानीय तहले अझै हामीलाई पाँच हजार पाउने बिरामीहरुको संख्याको रिर्पोट नदिनुभएको हुनाले उहाँहरुको पैसा दिन सकेका छैनौं,’ डा. पोखरेलले सोमबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भने ।

२०७८ चैतमा सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने निर्णय गरेको थियो । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले यस्तो रकम पाउँछन् ।

बाँकी स्थानीय तहलाई यस्तो औषधि उपचार खर्च पाउने नागरिकको सूचीका लागि ताकेता गरिरहेको स्वास्थ्य सचिव पोखरेलले बताए ।

‘आजसम्म सात वटा चिठी स्थानीय तहई लिस्ट पठाउन भनेर लेखिसकेका छौं । अब आठौं चिठी लेख्छौं,’ उनी भन्छन्, ‘ताकि आगामी आर्थिक वर्षमा पाँच हजार पाउने बिरामीको संख्या यकिन होस् र एकमुष्ट रकम पठाउन सकियोस् ।’

साथै, सचिव पोखरेलले क्यान्सरका बिरामीलाई उपचार खर्च दिने विषयमा प्रदेश सरकारहरुका बीचमा होडबाजी चलेको पनि बताएका छन् ।

कोशी प्रदेशले, बागमती प्रदेश, लुम्बिनी प्रदेशले क्यान्सरका बिरामीलाई थप रकम दिने भनेको उल्लेख गर्दै उनले भने, ‘यस्ता कार्यक्रमहरु केन्द्रको दायीत्व हो कि होइन ? कि नीतिगत निर्णय गरेर सबैमा बढाइदिऔं राज्यले धान्न सक्ने हो भने । केन्द्रले सहयोग दिन राज्यले धान्न नसक्ने र प्रदेशले दिंदा राज्यले धान्न सक्ने भनियो भने त अर्को कुरा आयो ।’

यस्तो विषयमा संसदमा नीतिगत छलफल भएर प्रष्टता हुनुपर्ने उनको भनाइ रहेको छ ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post