Latest news | Nepali short news | Help-Mission

बार्सिलोना । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको नवौं युरोपस्तरीय कार्यक्रम फ्रान्सको पेरिसमा हुने भएको छ ।

इनास फ्रान्सको आयोजनामा आगामी मे ११ र १२ मा वृहत गायन र नृत्य प्रतियोगितासहितको कार्यक्रम हुने भएको हो।

दुई दिन सम्म चल्ने उक्त कार्यक्रममा युरोपका विभिन्न मुलुकहरुबाट कलाकारहरुको सहभागिता रहने भएको छ ।

बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, पोल्याण्ड, स्पेन, चेक गणतन्त्र  लगायतका मुलुकहरुबाट कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

इनास ग्लोबलका प्रवक्ता तथा युरोप संयोजक प्रकाश तिवारीका अनुसार पहिलो दिन युरोप स्तरीय क्षेत्रीय बैठक र दोस्रो दिन युरोप महादेशस्तरीय नृत्य र गायन प्रतियोगिता हुने भएको छ। ‘हामीले यसपटक पनि युरोपका प्रतिभावान कलाकारहरुलाई चिनाउने अभियानलाई निरन्तरता दिंदैछौ। तसर्थ नवौं एकल नृत्य प्रतियोगिता र छैठौं एकल गायन प्रतियोगिताका लागि आफू बस्ने राष्ट्रमा रहेको इनासमा सम्पर्क गरी अडिसनमा भाग लिन कलाकारहरुलाई अनुरोध गर्दछु।’ युरोप संयोजक तिवारीले भने ।

नृत्य र गायनतर्फ पहिलो हुनेलाई ८ सय युरो ट्रफी,मेडल तथा प्रमाणपत्र ,दोस्रोलाई पाँच सय युरो र तेस्रो हुनेलाई ३ सय युरो नगदसहित प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न फ्रान्सस्थित संघसंस्थाका प्रतिनिधि, युरोपस्थित इनासका राष्ट्रिय समिति, युरोप क्षेत्रीय समिति तथा ग्लोबलका पदाधिकारीहरु समेतको उपस्थितिमा मार्च ३१ मा पेरिसमा प्रत्यक्ष बैठकको आयोजना गरिएको इनास फ्रान्सका अध्यक्ष आभाष आचार्यले बताए ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post