Latest news | Nepali short news | Help-Mission

२५ माघ, काठमाडौं । नेपालले क्याानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ ।

खेल बिहान ९ : १५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् ।

नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपूर्ण फाइदा उठाउँदै सहज जित हात पार्न खोज्नेछ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुआत गर्नेछ ।

क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ ।

नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । रिजन बायाँ हाते बलर हुँदा आज डेब्यु गर्नसक्ने सम्भावना छ ।

उता स्पिनर सूर्य तामाङले आज डेब्यू गर्ने बलियो सम्भावना छ । नेपालले प्रमुख स्पिनरको रुपमा ललितनारायण राजवंशी र सूर्यलाई मैदान उतार्ने सम्भावना छ । तीव्र गतिका बलरमा सोमपाल कामी र रिजन ढकालको सम्भावना छ ।

नेपालले ओपनरमा आज अनिल कुमार शाह र कुशल भुर्तेललाई मैदान उतार्ने सम्भावना छ । प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाएका अनिललाई मौका दिने सम्भावना छ । नियमित ओपनर आसिफ शेखलाई विश्राम दिनसक्छ । तेस्रो नम्बरमा भीम सार्की र देव खनाल मध्य एक खेल्नेछन् ।

 कप्तान रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन् । पाँचौंमा आरिफ शेख, छैटौंमा पवन सरार्फ र सातौंमा दीपेन्द्रसिंह ऐरी हुन सक्छन् । दीपेन्द्रले बलिङ आक्रामण पनि सम्हाल्नेछन् । दीपेन्द्र, रोहित र सोमपाल नेपालका प्रमुख हतियार हुन् ।

उता क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने दुविधा छ । कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन् । बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन । ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन् । उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् ।

नेपालमा फ्रेन्चाइज लिग खेलिसकेका श्रीमन्था विजयरत्नेले राम्रो ब्याटर हुन् । २०१८ मा उनले डिभिजन टुमा नेपालविरुद्ध शतक हानेका थिए । त्यस्तै भारतीय मुलका ब्याटर परगत सिंहले यसै साता हङकङविरुद्ध १२६ रनको शतकीय इनिङ खेलेका थिए ।

दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । २०१८ मा करण केसी हिरो बन्दै क्यानडामाथि एक विकेटको रोमान्चक जितका साथ ओडीआई मान्यताको सम्भावना खुलाएका थिए । त्यसपछि नेपालले क्रिकेटमा फड्को मार्दा क्यानडाले संघर्ष गर्दै आएकोछ ।

नेपालले यस सिरिज आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको रुपमा खेलेको हो । क्यानडाले लिग २ सिरिज यूएईमा गएर खेल्नुअघि खेलेको हो ।

नेपाली टोली

रोहित पौडेल(कप्तान, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह ।

क्यानडाको टोली 

साद बिन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post