Latest news | Nepali short news | Help-Mission

प्रेम र पर्यावरणलाई आफ्नो काव्य चेतनामा उनेर कवितामा पस्किने खुबीका कारण पछिल्लो छिमलमा पाठक र श्रोताका प्रिय भइरहेका भारतीय कवि राकेश रोहितका १० अनूदित कविता :

१) मैले ऊसँग कुरा गरें

मसँग भन्नलाई केही थिएन

अनि सुन्नलाई न कोही

मैले देखें मेरो आँखामा

एउटा आँसु झुन्डिरहेको थियो

मैले ऊसँग कुरा गरें

ऊ शनैःशनै: बहन थाल्यो।

 

२)  मैले उसलाई भेटें एक दिन

मैले उसलाई भेटें एक दिन

जसलाई कसैले हाँसिरहेको देखेन

एक विश्वप्रसिद्ध पेन्टिङमा उसका

मुस्कुराहटका विम्बहरू छन्

मैले एकदिन उसका बन्द आँखालाई चुमेको थिएँ

त्यो अँध्यारोमा मोती बर्सिने रात थियो।

३) चरा, झरी, सपना रुख

घाममा बसिरहेका चराहरूलाई

झरीको सपना आउँछ

एकदिन सपनामा झरी पर्छ

अनि फर्किन्छन् चराहरू रुखमा !

४) तिम्रो याद जस्तो कलरव

एउटा चरा रुखमा बसेको छ

एउटा याद मेरो मनमा छ

थाहा छैन आवाज कसको आउँछ ?

थाहा छैन यो कलरव कसको हो ?

कवि राकेश रोहित र अनुवादक विकेश कविन ।

५) माटोमा लुकेको कविता

तपाईं कहाँ मेरो हृदयले भनेको मान्नुहुन्छ ?

माटोमा लुकेको कविताको रहस्य केवल फूल जान्दछन् !

६) बस्नलायक यो संसार

केही कथाहरूले हामीलाई मान्छे बनायो

केही कविताहरूले उदासीमा थाम्यो हात

संसार यसै भएन बस्ने लायक

युगौंदेखि,

सुन्दर फूलहरूको बिरुवा बचाउँदै आएका छन् केही मानिस ।

७) कठपुतली अनि कहानी

के तपाईंले कहिल्यै कठपुतलीको नाच देख्नुभएको छ ?

चमकदमक अनि रङहरूले सजिएका

मञ्चमा नाँच्ने गर्छन् उनीहरू,

तर उनीहरूको भित्र कुनै कथा हुर्किंदैन ।

उनीहरू, जसको भित्र कुनै कथा हुर्किंदैन

कठपुतली बनिजाने गर्छन् !

८) कविता छ त्यसैले

कविता छ

त्यसैले बाँचिरहेका छन्

केही मान्छे

नत्र उनीहरू रहने थिएनन्,

रहने थिएनन्,

रहने थिएनन् !

९) खुसीको पेन्सिल

एकदिन एउटा बच्चाले मसँग

बडो अबोध प्रश्न गर्‍यो-

‘जुन पेन्सिलले हामी

खुसी लेख्न सक्छौं

त्यसले हामी

दु:ख किन लेख्छौं ?’

१०) दुई शब्द

दुईटा मात्र शब्द छन् संसारमा !

एक जुन तिमी भन्दछौ,

एक जुन म लेख्दछु !!

अनुवाद : बिकेश कविन



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post