Latest news | Nepali short news | Help-Mission

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वको रूपमा चिनिन्छ । यो पर्व विशे गरी पितृ पुण्य र श्रद्धाको लागि प्रसिद्ध छ ।

हाम्रो सनातन हिन्दु परम्परामा कुश (एक प्रकारको पवित्र वनस्पति) लाई भगवान विष्णुको प्रतीकको रूपमा चिनिन्छ र आजकै दिन यो पवित्र वनस्पति कुशलाई आ-आफ्नो घरमा भित्र्याइन्छ, जुन वर्षभरि गरिने देवकार्य वा पितृकार्यका लागि अति उपयोगी वनस्पतिको रुपमा लिइन्छ । कुशको महिमा वेद तथा पुराणहरूमा समेत वर्णन गरेको पाइन्छ ।

पिता धर्मः पिता स्वर्गः, पिता हि परमं तपः ।

पितरि प्रीतिमापन्ने, सर्बाः प्रीयन्ति देवताः ।।

आजकै दिन आफ्नो बुबा र पूर्वजहरूको सम्मान गर्ने दिनका रूपमा पनि मनाइन्छ । यस दिन पितृहरूको तर्पण, पूजा, ब्राह्मण भोजन र दानको माध्यमबाट उनीहरूको आत्मा शान्ति र मुक्ति प्राप्त गर्न प्रार्थना गर्ने गरिन्छ ।

आज पिताको महत्त्व र योगदानलाई मान्यता दिने अवसर हो । बाबुको मुख हेर्ने परम्पराले पिताप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्छ, जसले परिवार र समाजमा पिताको स्थान र योगदानको महत्त्वलाई उजागर गर्छ । जसले पारिवारिक एकता र आदरको विशेष स्थान राख्छ ।

यसै दिन विशेषगरी छोराछोरीहरूले आफ्नो पितालाई आदर व्यक्त गर्न पूजा अर्चना, पिताको आशीर्वाद लिने, पारिवारिक भोजको आयोजना गर्ने गरिन्छ, साथै पितृहरूलाई सम्मान स्वरूप काठमाडौंको गोकर्ण, पशुपति, रसुवाको बेत्रावती, देवघाट, बराहक्षेत्र लगायत विभिन्न तीर्थस्थलहरूमा स्नान, श्राद्ध, सिदा र तर्पण गर्नेहरूको ठूलो घुइँचो लाग्ने गर्छ । यसपालि सोमबारे औंसी परेकाले बिहान नबोलीकन नुहाउने चलन समेत रहेको छ ।

कुशे औंसी र कुशको महिमा

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ।

करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

नुहाउँदा, दान गर्दा, जप गर्दा, होम गर्दा, पाठपूजा गर्दा, देव कार्य होस् वा सम्पूर्ण पितृकार्यमा प्रयोग हुने बहुपयोगी कुशलाई सनातनीहरूले कुशलाई ऋषि महर्षिदेखि नै महत्वपूर्ण स्थानमा राखेका छन् । देवकार्य होस् या पितृकार्य जन्मदेखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुश हामी वैदिक सनातनीहरूलाई मात्र नभई कुशको धार्मिक, आयुर्वेदिक र वैज्ञानिक पक्षबाट पनि महत्त्व रहेको बहुउपयोगी वनस्पति हो ।

यथा वज्रं सुरेन्द्रस्य, यथा चक्रं हरेस्तथा ।

त्रिशूलं च त्रिनेत्रस्य, तथाविप्रपवित्रकम् ।।

धार्मिक कथनअनुसार कुश स्वर्गका राजा इन्द्रको वज्र, विष्णु भगवानको सुदर्शन चक्र र शिव भगवानको त्रिशूलजस्तो शक्तिशाली छ । यस्तो पवित्र कुश लगाए सबै खालको रिस, राग, क्रोध, संवेग तथा आवेग नियन्त्रित हुन्छ भन्ने विश्वास गरिन्छ । विष्णु भगवानको प्रतीक मानिने कुशलाई श्रीमद् भगवद् गीता, गरुड पुराण, अथर्व वेद आदिमा क्रोधशामक र अशुभ निवारक अर्थात् मनलाई नियन्त्रण गर्नसक्ने क्षमता रहेको छ भनेर व्याख्या गरिएको पाइन्छ ।

जब कुनै व्यक्तिको जन्मकुण्डलीमा राहुको महादशा या राहु ग्रहको नराम्रो प्रभाव परेको अवस्थामा कुशपानीले स्नान गर्नु र कुशको हवन गर्नाले पनि अत्यन्तै फाइदा हुने र राहु ग्रहको नकारात्मक प्रभाव समाप्त भई सकारात्मक ऊर्जा मिल्नेछ । हवन तथा याज्ञ आदि कार्यमा पनि कुश बिछ्याउने परम्परा वैदिककालदेखि नै चलिआएको छ ।

त्यसैगरी देवकार्य होस् या पितृकार्यमा कुशद्वारा निर्मित पवित्र अर्थात् कुशको औंठी औंलामा लगाउने र कम्मरमा सिउरिने धार्मिक विधि समेत रहेको छ । अघि पछि उखेलेको कुश एकदिन, कुशे औंशीको दिन उखेलेको कुश एक वर्ष र कुशे औंसीको दिन सोमबार (सोमबारे औंसी) पर्न गएमा १२ वर्षसम्म कुश काम लाग्ने अर्थात् ऊर्जा शक्तिले पूर्ण हुने शास्त्रोक्त वचन रहेको छ ।

कुशलाई आयुर्वेदिक दृष्टिकोणबाट पनि हेर्न सकिन्छ– कुशको प्रयोग आयुर्वेदिक औषधिहरूमा पनि गरिन्छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जरा र यसको पत्ताबाट रक्तसञ्चारमा, पत्थरीमा, अल्सर, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने सामर्थ्य कुशमै रहेको र अन्य विविध प्रकारका रोगहरुलाई नियन्त्रण तथा निर्मूल पार्न सक्ने क्षमता कुशमा रहेको छ भनिएको छ ।

यसरी कुशको धार्मिक दृष्टिकोण मात्र नभई वैज्ञानिक महत्त्व, प्राकृतिक संरक्षण र स्वास्थ्यको दृष्टिकोणबाट पनि अत्यन्तै महत्त्वपूर्ण बनाएको छ ।

(दुलाल ज्योतिषाचार्य तथा वास्तुविद् हुन् ।)



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post