Latest news | Nepali short news | Help-Mission

५ कात्तिक, काठमाडौं । नेपालमा सक्रिय एक गिरोहले भारतको कोलकातामा फ्ल्याट नै भाडामा लिएर मिर्गौला तस्करी गरेको खुलेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले एक महिनासम्म गरेको अनुसन्धानका क्रममा कोलकातास्थित अम्री अस्पताल नजिक फ्ल्याट नै भाडामा लिएर मिर्गौला तस्करीको धन्दा चलाएको फेला पारेको हो ।

मिर्गौला उपचारका लागि नेपालबाट कोलकाताको अम्री अस्पतालमा जाने व्यक्तिहरुसँग सम्पर्क गर्ने र मिर्गौलाको सम्पूर्ण उपचारको बन्दोबस्त मिलाउने भन्दै ठगी गरेको पाइएको ब्यूरोका अधिकारीहरु बताउँछन् ।

मिर्गौला तस्करी आरोपमा पक्राउ परेर हाल जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेका अमन साह आमा किरणदेवीको मिर्गौला उपचारको लागि अम्री अस्पताल पुगेका थिए । त्यसपछि यो मुद्दाका अन्य प्रतिवादीसँग कोलकातामै भेट भएको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।

‘अस्पतालका स्टाफले नै मिर्गौला प्रत्यारोपणका लागि एकमुष्ट १० लाख लाग्ने, मिर्गौला दिने मान्छे, कानुनी प्रक्रिया लगायत सम्पूर्ण व्यवस्था हुने बताएका थिए । त्यसपछि हामीले प्रक्रिया अघि बढाएका हौं’, अभियोगपत्रका साथमा समावेश अमनको बयानमा उल्लेख छ ।

त्यसपछि अमनका बाबु विमलप्रसाद साहको भेट नारायण परियार, शंकर खत्रीलगायतसँग भएको थियो । उनीहरुमार्फत नै काठमाडौंको बालाजुमा खाजाघर सञ्चालन गर्दै आएकी शान्तिमायाको सम्पर्कमा विमलको परिवार पुगेको प्रहरी अनुसन्धानबाट देखिएको छ । शान्तिमायाले आफ्नो होटलका नियमित ग्राहक मनिष (परिवर्तित नाम) लाई कन्भिस गराई मिर्गौला दिन राजी बनाएको खुलेको छ ।

३ लाख ७० हजार रुपैयाँमा मिर्गौला बेचेका मनिषले समेत बयानमा कोलकाताको फ्ल्याटमा आफूलाई २ महिनासम्म राखेर मिर्गौला दिन बाध्य बनाएको बताएका थिए ।

‘कोलकत्ता पुर्‍याएपछि मलाई विमलप्रसाद साहको जिम्मा लगाइयो । त्यसपछि अम्री अस्पताल नजिकैको फ्ल्याटमा मलाई २ महिनासम्म राखियो । कोठामै खाने-बस्ने व्यवस्था मिलाइएको थियो’, मनिषले प्रहरीसँगको बयानमा भनेका छन् ।

यो घटनामा प्रहरीले ८ जनाविरुद्ध मानव बेचबिखनविरुद्धको मुद्दा लगाएको छ, तीमध्ये दुई जना फरार छन् । ललितपुरका शंकर खत्री, बालाजुमा खाजा पसल चलाउने मकवानपुरकी शान्तिमाया घलान, काठमाडौं चन्द्रागिरीका नारायण भनिने नारन परियार, धनुषाका अमन साह, धादिङका कृष्ण श्रेष्ठ, सिन्धुपाल्चोकका राजकुमार नेपाली भनिने राजकुमार बिसुन्के, धनुषाका ५९ वर्षीय विमलप्रसाद साह र धनुषाकै मुकेशकुमार साहविरुद्ध मुद्दा छ । उनीहरुमध्ये विमलप्रसाद र मुकेशकुमार फरार छन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार कानुन विपरीत मानव अंग झिक्नेलाई १० वर्षसम्म कैद र २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । यो कानुन अनुसार नजिकको आफन्तबाहेक अन्यको अंगदान लिन पाइँदैन ।

दुई वर्षअघि कोलकाताको अम्री अस्पताल अगाडि फ्ल्याट भाडामा लिएर मिर्गौला तस्करी गरेको देखिन्छ । अस्पतालमा उपचार गराउन आएका व्यक्तिसँग सम्पर्क गरी मिर्गौला दिने व्यक्तिको खोजी गरी कोलकाता पुर्‍याएर मिर्गौला झिक्ने गरेको पाइएको छ’, मानव बेचबिखन नियन्त्रण व्यूरोका एसपी गौतम मिश्रले भने ।

नक्कली देवर बनाएर मिर्गौला तस्करी

यो प्रकरणमा ३ लाख ७० हजारमा मिर्गौला बेचेका चन्द्रागिरीका मनिषलाई किरणदेवीका नक्कली देवर बनाएको कागजात पनि प्रहरीले फेला पारेको छ ।

कोलकातास्थित अम्री अस्पताल पुर्‍याएर मनिषको मिर्गौला किरणदेवीमा प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणलाई वैधानिाक देखाउन मनिष देवर भएको नक्कली कागजात बनाइएको थियो ।

त्यसका लागि किरण देवीकी देवर मुकेशकुमारको नागरिकता दुरुपयोग भएको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

‘मुकेशकुमारको नेपाली नागरिकतामा रहेको फोटो उप्काएर मनिषको फोटो टाँस गरिएको भेटिएको छ । त्यसपछि मनिषलाई देवर बनाएर मिर्गौला प्रत्यारोपण गरेको देखिन्छ’, मिश्रले अनलाइनखबरसँग भने ।

मिर्गौला प्रत्यारोपणका लागि चाहिने अन्य कागजातहरु समेत मनिषलाई मुकेशकुमार साह बनाएर तयार पारिएको खुलेको छ । गत वर्षको तिहारपछि मनिषलाई काठमाडौंको बल्खुबाट वीरगञ्ज, रक्सौल हुँदै कोलकत्ता पुर्‍याएर मिर्गौला तस्करी गरिएको थियो ।

यो प्रकरणमा फरार रहेका विमलप्रसाद र मुकेशकुमारलाई लिखतसम्बन्धी कसुरको मुद्दा पनि लगाइएको छ । उनीहरु दुई जनाको मिलेमतोमा मुकेशकुमारको नागरिकताको फोटो उप्काएर मनिषको फोटा टाँस गरी किरणदेवीका देवर बनाएर मिर्गौला तस्करी गरिएको थियो ।

मुलुकी अपराध संहितामा लिखत कीर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उनीहरुको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासमा सुनुवाइ भइरहेको छ । आइतबार उनीहरुको बयान भएको छ । त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ९ भदौमा शंकर खत्रीलाई पक्राउ गरेपछि यो प्रकरणमा अनुसन्धान अघि बढेको थियो ।

यसअघि खत्रीले काभ्रेका एक युवकको मिर्गौला आफ्नी श्रीमतीलाई प्रत्यारोपण गर्ने क्रममा २०७९ सालमा अम्री अस्पताल अगाडि फ्ल्याट भाडामा लिएको बताएका थिए ।

‘दुई वर्षअघि कोलकाताको अम्री अस्पताल अगाडि फ्ल्याट भाडामा लिएर मिर्गौला तस्करी गरेको देखिन्छ । अस्पतालमा उपचार गराउन आएका व्यक्तिसँग सम्पर्क गरी मिर्गौला दिने व्यक्तिको खोजी गरी कोलकाता पुर्‍याएर मिर्गौला झिक्ने गरेको पाइएको छ’, मानव बेचबिखन नियन्त्रण व्यूरोका एसपी मिश्रले भने ।

आफ्नो मिर्गौला बेचेपछि तस्करीको धन्दा

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मिर्गौला तस्करीको आरोपमा पक्राउ परेका ६ जना व्यक्तिहरुमध्ये पाँच जना यसअघि मिर्गौला तस्करीमा संलग्न रहेको फेला पारेको छ ।

जसले आफ्नो मिर्गौला बेच्नेदेखि अरुको मिर्गौला तस्करी गर्ने र तस्करीमा उक्साउनेसम्मको भूमिका खेलेको ब्यूरोको अनुसन्धानले देखाएको छ । अहिले ८ जनाविरुद्ध एउटा मिर्गौला तस्करीको घटनामा मुद्दा दर्ता भएको छ । जसमा प्रतिवादी बनाइएकामध्ये ३ जना फरार छन् । अर्को एउटा मिर्गौला तस्करीको घटनामा भने दशैंअघि नै दुई जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । जसमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यी दुई फरक मुद्दामा पक्राउ परेका ६ जनामध्ये तीन जना काभ्रेका कृष्ण कामी, धादिङका कृष्ण श्रेष्ठ, चन्द्रागिरीका नारायण भनिने नारन परियारले यसअघि नै आफ्नो मिर्गौला बेचिसकेको खुलेको छ ।

अर्का प्रतिवादी शंकर खत्रीले यसअघि आफ्नाी श्रीमतीका लागि काभ्रेकै एक व्यक्तिको मिर्गौला तस्करी गरेको खुलेको छ । अर्का प्रतिवादी शान्तिमाया घलान भने मिर्गौला तस्करीका लागि व्यक्तिलाई उक्साउने र मिर्गौला दिन राजी गराउने व्यक्ति रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

जसकारण अहिले हिरासतमा रहेका अमन साहबाहेक बाँकी सबैजना यसअघिदेखि नै मिर्गौला तस्करीमा संलग्न भएको पाइएको छ । ‘उनीहरु सबैको आर्थिक अवस्था कमजोर रहेको र आफ्नो मिर्गौला बेचेको रकम मासेपछि यही धन्दामा लागेको देखिन्छ’, एसपी मिश्रले भने ।

यसअघि काभ्रेका एक व्यक्तिले अहिले हिरासतमा रहेका शंकर खत्रीकी श्रीमतीलाई २०७९ साल फागुन १८ गते कोलकाताको अम्री अस्पतालमा मिर्गौला दिएको खुलेको थियो ।

१० लाख पाउने भन्दै मिर्गौला बेचे पनि आफूले साढे ६ लाख मात्रै पाएको ती व्यक्तिको भनाइ छ । मिर्गौला प्रत्यारोपण गरे पनि शंकरकी पत्नीको मृत्यु भयो । खत्री त्यसपछि मिर्गौला तस्करीमा पुन लागेको खुलेको छ । श्रीमतीका लागि मिर्गौला तस्करीको आरोप लागेका खत्रीसँगै कृष्ण विक पुर्पक्षमा कारागार चलान भइसकेका छन् ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post