Latest news | Nepali short news | Help-Mission

२५ कात्तिक, काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको ४०औँ जन्मजयन्ती आज मनाइँदै छ । फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ । विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते जारी गरेको ‘सत्य हाङ्गमा ‌‌(धर्म) मुचुल्का’को नीति चर्चित छ ।

छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष त्यसमा समेटिएका छन्, जुन सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।

फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post