Latest news | Nepali short news | Help-Mission

२४ असार, काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले मुलुकको आर्थिक विकासका लागि संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय युवा परिषदले शनिबार काठमाडौंमा आयोजना गरेको युवा नीति बहस कार्यक्रममा बोल्दै डा. फुयाँलले कृषिको संरचनात्मक सुधार गरी आर्थिक विकासमा टेवा पुर्याउनु आवश्यक रहेको बताए ।

नेपालमा कृषिको प्रशस्त सम्भावना भए पनि उत्पादन बढाउन नसकिएको भन्दै उनले विद्यमान मोडलमा परिवर्तन जरुरी रहेको बताए । ‘कृषि उपजहरु नै हामीले ठूलो मात्रामा आयात गरिरहेका छौं, स्वदेशमै उत्पादन गरेर हामी कृषि उपज आयात कम गर्न सक्छौं, उनले भने, ‘उत्पादन हुने जमिनको उपयोगमा ध्यान दिनुपर्नेछ, थोरै जमिनमा पनि कसरी धेरै उत्पादन गर्न सकिन्छ त्यतातिर काम गर्नुपर्छ ।’

फुयालले छिटो नाफा कमाउने उद्देश्यले व्यवसायीहरु स्वदेशमा उत्पादन गर्ने भन्दा पनि विदेशबाट आयात गरेर व्यापार गर्न रमाएकोमा चिन्ता ब्यक्त गरे । फुयालले भने, ‘यसले अर्थतन्त्रलाई बलियो बनाउँदैन । अर्थतन्त्रको जग भनेको उत्पादन नै हो । उत्पादनमा जोड दिएर अर्थतन्त्रको जग बलियो बनाउनु पर्छ, आत्मनिर्भर बनेर आयात–निर्यातबीचको जुन ग्याप छ त्यसलाई कम गर्नुपर्छ ।’

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा जनसांखिक लाभांशको उच्चतम् सदुपयोग गर्न विलम्ब गर्न नहुने बताए । बस्नेतले युवाहरुलाई उद्यमशीलता र स्वरोजगारको माध्यमवाट राष्ट्र निर्माणमा परिचालन गरिनुपर्ने बताउँदै बस्नेतले भने, ‘तिनै तहका सरकारले युवाहरुलाई मुलुकभित्रै आशा, सपना र भविष्य देखाउन सक्नुपर्छ ।’

कार्यक्रममा पत्रकार चेतन अधिकारीले राष्ट्रिय जनगणना ०७८ र जनसांखिक लाभांश विषयमा विश्लेषणात्मक कार्यपत्र प्रस्तुत गरेका थिए । अधिकारीले प्रस्तुत गरिएको कार्यपत्रमा जनसांखिक हिसाबले लाभको समय ३० वर्ष बिताए पनि देशले बोनस पाउन नसकेको उल्लेख छ । बाँकी रहेको २५ वर्षमा युवाहरुलाई कसरी स्वदेशमै श्रम, रोजगारी र उत्पादनमा लगाउन सकिन्छ त्यसमा सरकारले कार्यक्रमहरु ल्याउनुपर्ने उनले उल्लेख गरेका छन् ।

युवा नीति बहस कार्यक्रममा वाईसीएल नेपालका अध्यक्ष सुवोध सिर्पाली, युवा संघका उपाध्यक्ष कृष्णहरि केसी, अनेरास्ववियुका उपाध्यक्ष गोविन्द गिरी, अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नारायण खनाल, अनेरास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्त, अनेरास्ववियू (क्रान्तिकारी)का संयोजक पवन कार्की, नेविसंघका केन्द्रीय प्रतिनिधि पदम भट्टराई, त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति श्यामराज रोक्का, नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुङ्गेल लगायतले युवा नीतिबारे धारणा राखेका थिए ।



from Help-Mission Jhapa Nepal

Post a Comment

Previous Post Next Post